Class 10 Nepali Lesson 6 अधिकार ठुलो कि कर्तव्य ठुलो ? Exercise Solutions | PragyaRoot
Class 10 Nepali Lesson 6 अधिकार ठुलो कि कर्तव्य ठुलो ? Exercise Solutions | PragyaRoot
पाठ ६ · वादविवाद

अधिकार ठुलो कि कर्तव्य ठुलो ?

कक्षा १० नेपाली पाठ्यपुस्तक

शब्दभण्डार

१. दिइएका शब्द र अर्थ बीच जोडा मिलाउनुहोस् :

प्रतियोगिता प्रतिस्पर्धा वा होडबाजी
वक्ता बोल्ने व्यक्ति
कायापलट ठूलो परिवर्तन
अभिमत मनको विचार, राय
कसी वस्तुको स्तर निधारण गर्ने साधन
कानुन राज्यमा न्यायिक व्यवस्था कायम राख्न बनाइएको नियमको समष्टि रूप
गतिशील निरन्तर परिवर्तनशील, चलायमान
नैसर्गिक स्वाभाविक, प्राकृतिक
घोषणापत्र कुनै पनि संस्था वा व्यक्तिको वचनबद्धता घोषित गर्ने पत्र

२. दिइएका शब्द प्रयोग गरी एउटा अनुच्छेद लेख्नुहोस् :

हामी नेपाली सबैले आफ्नो कर्तव्यपालन गर्नुपर्छ । हाम्रो संविधानमा पनि नागरिकका कर्तव्य उल्लेख गरिएको छ । वर्तमान संविधान निर्माणको क्रम निकै सङ्घर्षपूर्ण थियो । अब हामी मानव एक अर्काको कल्याणमा लाग्नुपर्छ । देशको प्रजातन्त्र जोगाउनुपर्छ र नागरिकलाई अधिकारले सम्पन्न बनाउनुपर्छ ।

३. दिइएको अनुच्छेदबाट श्रुतिसमभिन्नार्थी शब्द खोजेर लेख्नुहोस् :

श्रुतिसमभिन्नार्थी शब्दहरू : दिन - दीन, कृति - कीर्ति, द्वीप - दीप, सित - शीत, जुन - जून

४. दिइएका शब्दको अर्थ खुल्ने गरी अलग अलग वाक्यमा प्रयोग गर्नुहोस् :

बाजी मामाले जुवामा बाजी लगाउँदा धेरै पैसा जित्नुभयो ।
बाजि कमलले कयौं बाजि सगरमाथा चढ्न खोज्दा पनि सकेन ।
अवधी नेपालका धेरै भाषामध्ये अवधी भाषा पनि एक हो ।
अवधि समय अवधिको कारणले गर्दा मैले एस.ई.ई.को तयारी गर्न सकिन ।
तिन मैले सिनेमा हेर्न जाऊँ भनेको तिनले अर्कै सुनिन् ।
तीन जियान्सले तीन हजारमा मोबाइल किनेछ ।
पूरा प्रख्यातले सुरु गरेको काम प्राश्नाले पूरा गरिन ।
पुरा पवनले खाएको पुरा गणेशले खाइदियो ।
फेरि एस.ई.ई.मा फेल भएपछि मनोजले फेरि परीक्षा दियो ।
फेरी जोगीले राती फेरी लगाउँदा मलाई एकदमै डर लाग्छ ।
शूर मानिस भएपछि हामी शूरवीर हुनुपर्छ ।
सुर सुर नभएको मानिसले गीत गाउँदा राम्रो सुनिँदैन ।

बोध र अभिव्यक्ति

१. दिइएका शब्दको शुद्ध उच्चारण गर्नुहोस् :

विश्वव्यापी, सङ्ग्राम, उत्प्रेरित, प्रज्वलित, प्रतिस्पर्धा, ज्वलन्त, दृष्टान्त, कुण्ठित, उद्घोषक, कर्तव्यपरायण

२. 'अधिकार ठुलो कि कर्तव्य ठुलो ?' वादविवादमा सहभागी भएका वक्ताको भूमिका निर्वाह गर्दै हाउभाउ सहित वादविवाद सस्वर वाचन गर्नुहोस् ।

निर्देश: शिक्षकअनुसार गर्नुहोस् ।

३. दिइएका प्रश्नको उत्तर भन्नुहोस् :

(क)अधिकार ठुलो कि कर्तव्य ठुलो ? वादविवादमा वक्ताले पालना गर्नुपर्ने नियमहरू भन्नुहोस्।
उत्तर: वादविवादमा वक्ताले पालना गर्नुपर्ने नियम यस प्रकार छन् :
(अ) प्रत्येक वक्ताका लागि पाँच मिनेटको समय निर्धारण गरिएको छ । चार मिनेटमा जनाउ घन्टी बज्ने छ र पाँच मिनेटमा अन्तिम घन्टी बज्ने छ । अन्तिम घन्टीपछि वक्ताको समय समाप्त हुने छ ।
(आ) कुनै जाति, वर्ग, धर्म, समुदाय, क्षेत्र, लिङ्ग, अपाङ्गताप्रति भेदभाव हुने र आक्षेप लगाउने खालका विचार व्यक्त गर्न पाइने छैन ।
(इ) विपक्षका भनाइ खण्डन गर्दा आआफ्ना तर्क संयमित र शिष्ट ढङ्गले राख्नुपर्ने छ ।
(ई) वक्ताले कुनै लिखित टिपोट हेरेर बोल्न पाइने छैन ।
(उ) निर्णायक मण्डलको निर्णय नै अन्तिम हुने छ ।
(ख)वादविवाद पाठमा कति जना पात्रको प्रत्यक्ष सहभागिता रहेको छ ?
उत्तर: वादविवाद पाठमा ५ जना पात्रको प्रत्यक्ष सहभागिता रहेको छ ।
(ग)वादविवादको पहिलो वक्ता को हुन् र उनले ककसलाई सम्बोधन गरेका छन् ?
उत्तर: वादविवादको पहिलो वक्ता चिदानन्द चौधरी हुन् र उनले सभाध्यक्ष, प्रमुख अतिथि, निर्णायक मण्डल, गुरु, गुरुआमा, प्रतियोगी साथीहरू र उपस्थित सम्पूर्ण विद्यार्थीलाई सम्बोधन गरेका छन् ।
(घ)वादविवादमा युधिष्ठिरको प्रसङ्ग कुन वक्ताको भनाइमा आएको छ ?
उत्तर: वादविवादमा युधिष्ठिरको प्रसङ्ग पदम गुप्ताको भनाइमा आएको छ ।

४. दिइएको वादविवादको अंश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

(क)सुकरातले सत्यप्रतिको निष्ठा र कर्तव्यपरायणका लागि के गरे ?
उत्तर: सुकरातले सत्यप्रतिको निष्ठा र कर्तव्यपरायणताका लागि हेमलक विष पिए ।
(ख)बुद्धले कस्तो रहस्यको खोजी गरे ?
उत्तर: बुद्धले संसारमा दुःख के हो र यसबाट मानव जातिले कसरी मुक्ति पाउँछ भन्ने रहस्यको खोजी गरे ।
(ग)हामीले कसरी कर्तव्य पालन गर्न सक्छौं ?
उत्तर: हामीले आआफ्नो ठाउँमा रही जिम्मेवार भएर कर्तव्य पालन गर्न सक्छौं ।
(घ)वादविवादको अंशमा कस्ता कस्ता मौलिक कर्तव्यको कुरा गरिएको छ ?
उत्तर: वादविवादको अंशमा राष्ट्रप्रतिको सम्मान, स्वतन्त्रता तथा साझा सांस्कृतिक सम्पदाको संरक्षण, धार्मिक सहिष्णुता र भाषिक विविधताको सम्मान जस्ता मौलिक कर्तव्यको कुरा गरिएको छ ।

५. दिइएका भनाइका वक्ता पहिचान गर्नुहोस् र उक्त भनाइका आशयबारे कक्षामा छलफल गर्नुहोस् :

(क)निर्णायक मण्डलको निर्णय नै अन्तिम हुने छ ।
वक्ता: उद्घोषक रमा पंजियार
(ख)परोपकार गर्नु नैतिक कर्तव्य हो ।
वक्ता: पदम गुप्ता
(ग)नागरिक भएकै कारणबाट प्राप्त गर्ने अधिकार सम्पूर्ण नेपालीले बिना भेदभाव प्रयोग गर्न पाएका छन् ।
वक्ता: श्रुति साह
(घ)खुसीको अजस्र स्रोत कर्तव्य भएकाले अधिकारभन्दा कर्तव्य नै ठुलो हो ।
वक्ता: चिदानन्द चौधरी
(ङ)राष्ट्र र राष्ट्रियताको मजबुत जग बसाल्न हरेक वर्गका मानिसले अन्यायको अनुभूति गर्ने अवस्था आउनुहुँदैन ।
वक्ता: विश्वेश्वरप्रसाद कोइरालाको भनाइ वक्ता भरत भण्डारीले
(च)कर्तव्यप्रतिको निष्ठा भक्ति वा उपासनाको सर्वोच्च रूप हो ।
वक्ता: विवेकानन्दको भनाइ चिदानन्द चौधरीले
(छ)प्रकृतिको अधिकार खोस्ने ताकत कसैसँग छैन, कसैले प्रकृतिको अधिकार खोसोस् त ?
वक्ता: श्रुति साह

६. दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :

(क) अधिकार ठुलो कि कर्तव्य ठुलो ? वादविवादका चिदानन्द चौधरीले कर्तव्यपालनबारे भनेका मुख्य मुख्य तीनओटा भनाइ लेख्नुहोस् ।

उत्तर: चिदानन्द चौधरीले कर्तव्यपालनबारे भनेका मुख्य तीन भनाइ यसप्रकार छन् :
· कर्तव्यले नै मानिसलाई जीवनवादी बन्न र मनमा सकारात्मक सोच पैदा गर्न उत्प्रेरित गर्छ ।
· संसारका कैयौं आदर्श व्यक्ति आआफ्नो ठाउँमा रहेर नै कर्तव्य पालनको अग्निपरीक्षामा खारिएर खरो उत्रेका र महान् बनेका हुन् ।
· आआफ्ना ठाउँबाट सबैले आआफ्नो कर्तव्य निर्वाह गरेको समाज सभ्य र सुसंस्कृत हुन्छ ।

(ख) कर्तव्यको विषयलाई हाम्रा पौराणिक ग्रन्थमा कसरी उल्लेख गरिएको छ, वादविवादका आधारमा लेख्नुहोस् ।

उत्तर: हाम्रा पौराणिक ग्रन्थहरूमा कर्तव्यको विषयलाई प्राथमिकताका साथ उल्लेख गरिएको छ । नीतिश्लोकमा न्यायपूर्ण रूपमा आर्जन गरेको धनबाट पारलौकिक कर्तव्य गर्नुपर्छ भनिएको छ भने गीतामा आफ्ना हातमा कर्तव्य गर्ने जुन अधिकार छ त्यसलाई इमानदारीपूर्वक पूरा गर्नुपर्छ भनिएको छ । उपनिषद्मा मातृ देवो भव, पितृ देवो भव, आचार्य देवो भव जस्ता भनाइहरू समावेश गरिएका छन् । यी उदाहरणहरूले हाम्रा पौराणिक ग्रन्थहरूमा कर्तव्यको विषयलाई निकै महत्त्वपूर्ण स्थान दिइएको स्पष्ट हुन्छ ।

(ग) अधिकारका सन्दर्भमा भरत भण्डारीका भनाइको सार लेख्नुहोस् ।

उत्तर: भरत भण्डारीका अनुसार अधिकारबिना कर्तव्य पूरा गर्न सम्भव छैन । एउटा बालक जन्मनासाथ उसलाई कर्तव्यभन्दा पहिले अधिकारको हक प्राप्त हुन्छ । अधिकार जन्मसिद्ध हुन्छ भने कर्तव्य पछि मात्र जोडिने विषय हो । यसैले कर्तव्यभन्दा अधिकारको महत्त्व बढी हुन्छ भन्ने नै उनको भनाइको सार हो ।

(घ) श्रुति साहको भनाइको सार लेख्नुहोस् ।

उत्तर: श्रुति साहका अनुसार अधिकार ठुलो भएकै कारण यसको प्राप्तिका लागि विभिन्न आन्दोलनहरू भएका हुन् । प्रकृतिसँग सम्पूर्ण अधिकार छ र प्रकृतिले आफ्नो कर्तव्य पनि पूरा गरिरहेको छ । मानिसले जन्मसिद्ध रूपमा प्राप्त गर्ने, समग्र व्यक्तित्व विकास तथा सम्मानपूर्ण र नैतिक जीवनयापनका लागि अपरिहार्य अधिकार नै कर्तव्यभन्दा विशिष्ट र ठुलो हो ।

७. व्याख्या गर्नुहोस् :

(क) कर्तव्यको कसीमा घोटिंदा मात्र हरेक व्यक्तिको व्यक्तित्वको सफल परीक्षण हुन्छ ।

उत्तर: प्रस्तुत भनाइ 'अधिकार ठुलो कि कर्तव्य ठुलो ?' वादविवादको पहिलो वक्ता चिदानन्द चौधरीले राखेका हुन् । अधिकारभन्दा कर्तव्य ठुलो हो भन्ने पक्षमा तर्क राख्दै उनले यो भनाइ प्रस्तुत गरेका हुन् । कर्तव्यको पालनाबाट नै मानिस सफल वा असफल भन्ने निर्धारण हुन्छ भन्ने आशय यस भनाइमा निहित छ ।

पिताप्रतिको कर्तव्य पालनाका सन्दर्भमा जब राम वनवास गए, उनी मर्यादापुरुषोत्तम बने र भगवान्का रूपमा पुजिए । संसारमा दुःख के हो र यसबाट मानव जातिले कसरी मुक्ति पाउँछ भन्ने रहस्यको खोजसम्बन्धी कर्तव्य निर्वाह गर्दा गौतम बुद्ध महान् बने । ससाना कार्यबाट प्राप्त हुने ठुला परिणामले पनि कर्तव्यको महानता झल्काउँछ । आआफ्ना ठाउँबाट सबैले आफ्नो कर्तव्य निर्वाह गरेको समाज सभ्य र सुसंस्कृत हुन्छ । नागरिकले आआफ्ना घर वरिपरि सफा गरे भने सिङ्गो गाउँ वा सहर सफा हुन्छ । कृषकले झरी र बादलको वास्ता नगरी गरेको मिहिनेतले सबैले खाने अन्न उत्पादन हुन्छ । शिक्षकले पेसाप्रतिको निष्ठा सम्झेर सोअनुसारको आचरण गर्दा शिक्षकको कर्तव्य पूरा हुन्छ । यसरी मानिसले आफ्ना कर्तव्य पूरा गरे मात्र ऊ सफल कहलाउँछ भन्ने कुरा स्पष्ट पार्न खोजिएको छ ।

यसरी निष्कर्षमा, मानिसको वास्तविक मूल्याङ्कन उसले पाएको अधिकारले नभई निभाएको कर्तव्यले हुन्छ । कर्तव्यको कठिन घोटाइले मात्र व्यक्तित्वको साँचो परीक्षण हुन्छ र सफलता प्राप्त हुन्छ । कर्तव्यपालन नै जीवनको सबैभन्दा ठुलो धर्म हो । कर्तव्यको कसीमा घोटिंदा मात्र हरेक व्यक्तिको व्यक्तित्वको सफल परीक्षण हुन्छ भन्ने भाव यस वादविवाद अंशमा व्यक्त भएको पाइन्छ ।

(ख) अधिकार नदिई कर्तव्य मात्र पूरा गर भन्नु बिना हतियार लडाइँमा पठाउनु जस्तै हो । खुट्टामा नेल लगाएर हिँड् भन्नु जस्तै हो ।

उत्तर: प्रस्तुत भनाइ 'अधिकार ठुलो कि कर्तव्य ठुलो ?' वादविवादमा कर्तव्यभन्दा अधिकार ठुलो भन्ने पक्षका वक्ता भरत भण्डारीले राखेका हुन् । यस भनाइमा अधिकारबिनाको कर्तव्य कत्तिको निरर्थक र असम्भव हुन्छ भन्ने कुरालाई सशक्त रूपमा प्रस्तुत गरिएको छ ।

मानिसका लागि अधिकार पहिलो र अनिवार्य शर्त हो । अधिकारबिना मानिस अपाङ्ग र अशक्त बन्दछ । एउटा बालक जन्मनासाथ उसलाई अधिकार चाहिन्छ । अधिकार जन्मसिद्ध हुन्छ भने कर्तव्य पछि मात्र जोडिने विषय हो । किसानले बिउबिजन र मल पाए मात्र अन्न उब्जनी गर्न सक्छन् । त्यसरी नै मानिसहरूले पहिला अधिकार पाए मात्र कर्तव्य निभाउन सक्छन् । अधिकारबिनाको कर्तव्य नुनबिनाको तरकारी र अमिलोबिनाको अचार जस्तै निरर्थक हुन्छ । मान्छेलाई अधिकार नदिई कर्तव्य मात्र पूरा गर भन्नु भनेको बिना हतियार लडाइँमा पठाउनु, खुट्टामा नेल लगाएर हिँड्न भन्नु वा हातमा हत्कडी लगाएर काम गर्न भन्नु जस्तै हो । जसरी खुट्टामा नेल लगाएको मान्छे हिँड्न सक्दैन, त्यसरी नै अधिकारबिना मानिसले कर्तव्य पूरा गर्न सक्दैन ।

यसरी निष्कर्षमा, अधिकार र कर्तव्य एकअर्काका परिपूरक भए पनि कर्तव्य पालनाका लागि अधिकारको प्राप्ति पहिलो सर्त हो । अधिकारबिना कसैलाई पनि कर्तव्य पालन गर्न बाध्य पार्न सकिँदैन । अधिकार नदिई कर्तव्य मात्र पूरा गर भन्नु बिना हतियार लडाइँमा पठाउनु जस्तै हो भन्ने भाव यस वादविवाद अंशमा अभिव्यक्त भएको देखिन्छ ।

८. अधिकार ठुलो कि कर्तव्य ठुलो ? वादविवादका वक्तामध्ये तपाईंलाई कसको भनाइ मन पर्यो, किन ?

उत्तर: 'अधिकार ठुलो कि कर्तव्य ठुलो ?' वादविवादका वक्तामध्ये मलाई चिदानन्द चौधरीको भनाइ मन परेको छ । उनले आफ्नो भनाइका क्रममा पूर्वीय दर्शन र पश्चिमा चिन्तकहरूका विभिन्न भनाइ तथा उदाहरणहरू प्रस्तुत गरेका छन् । हामी सबैले आआफ्नो कर्तव्य निभाउन थाल्यौं भने सबै कुरा स्वतः राम्रो हुन्छ भन्ने उनको तर्क सशक्त छ ।

हाम्रो देश पछाडि पर्नुमा आफ्नो कर्तव्यप्रति जिम्मेवार नहुने र सधैं अधिकारका लागि मात्र आवाज उठाउने हामी नेपालीहरूको बानी पनि कारण हो जस्तो मलाई लाग्छ । म 'देशले मलाई के दियो' भन्दा पनि 'मैले देशलाई के दिएँ' भन्ने विचार राख्छु र कर्तव्यलाई नै ठुलो ठान्दछु । उनले आफ्ना तर्कहरूलाई राम, बुद्ध, सुकरात जस्ता महान् व्यक्तित्वहरूको उदाहरणबाट पुष्टि गरेका छन् । उनको सम्बोधन शैली, विषयवस्तुको गहिरो ज्ञान र प्रभावकारी निष्कर्षले मलाई निकै प्रभावित पारेको छ । उल्लिखित कारणहरूले नै मलाई चिदानन्द चौधरीको भनाइ मन परेको हो ।

१०. तपाईंले वादविवादमा कर्तव्य र अधिकारका बारेमा फरक फरक तर्क पढ्नुभयो । कर्तव्य र अधिकारको सम्बन्ध कस्तो हुन्छ होला, साथीसँग छलफल गरी निष्कर्ष कक्षामा सुनाउनुहोस् ।

उत्तर: कर्तव्य र अधिकारको सम्बन्ध एक सिक्काका दुई पाटा जस्तै हो । अधिकार मानिसले जन्मसिद्ध रूपमा प्राप्त गर्छ भने कर्तव्य आफैं महसुस गर्ने र निभाउने कुरा हो । अधिकार प्राप्ति हो भने कर्तव्य व्यवहार वा चेतना हो । अधिकार अरूबाट प्राप्त हुन्छ तर कर्तव्य स्वयंले गर्ने व्यवहार हो । अधिकार बीज र बोट हो भने कर्तव्य त्यसको फल हो । यी दुई एकअर्काका परिपूरक हुन् र एउटाको अभावमा अर्कोको कल्पना गर्न सकिँदैन ।

१२. हरेक आमाबुबाले आफ्ना सन्तानका लागि सम्पत्ति जोडिदिने कि स्तरीय शिक्षा दिने ? भन्ने भनाइको पक्ष र विपक्षमा विभाजित भई कक्षामा छलफल गर्नुहोस् ।

पक्ष (स्तरीय शिक्षा दिने) :
आदरणीय सभापतिज्यू, प्रमुख अतिथिज्यू, अतिथिज्यूहरू, निर्णायक मण्डल, गुरुवर्ग तथा मेरा प्रतियोगी साथीहरू र उपस्थित सम्पूर्ण विद्यार्थी मित्रहरू ! म आजको वादविवादमा विषयको पक्ष अर्थात् सन्तानलाई स्तरीय शिक्षा दिनुपर्छ भन्ने विषयमा आफ्ना तर्क प्रस्तुत गर्दै छु ।

सभाध्यक्ष महोदय ! 'विद्या धनम् सर्वधनम् प्रधानम्' भन्ने भनाइ सर्वविदितै छ । शिक्षारूपी धन कहिल्यै पनि नासिने र नष्ट नहुने धन हो । स्तरीय शिक्षाकै कारणले सन्तान आफ्नै खुट्टामा उभिएर गरिखान सक्छन् । आमाबाबुले आफू धनको गरिब बनेर पनि आफ्ना सन्तानलाई शिक्षाको धनी बनाउने सपना राख्नुपर्छ । धन क्षणिक हुन्छ तर शिक्षाले मानिसलाई जीवनभर सहयोग गर्छ । जहाँ गए पनि शिक्षाले हामीलाई पछ्याइरहेको हुन्छ । शिक्षित मान्छेले सम्मानित जीवन पाउन सक्छ र ऊ अपमानित हुने सम्भावना कम हुन्छ । सम्पत्तिको सहारा त्यो रहुन्जेल मात्र हो । यदि सन्तान अशिक्षित छ र उसका बाबुआमाले सम्पत्ति दिएका छन् भने सम्पत्ति सकिएपछि उसको शक्ति पनि सकिन्छ । तर यदि उसलाई शिक्षा दिइएको छ भने ऊ जीवनभर आफ्नै क्षमताले जिउन सक्छ र अरूलाई पनि सहयोग गर्न सक्छ ।

नेल्सन मन्डेलाले भनेका छन्, "शिक्षा सबैभन्दा शक्तिशाली त्यो अस्त्र हो जसलाई तिमी संसार परिवर्तनका लागि प्रयोग गर्न सक्छौ ।" त्यस्तै अरिस्टोटलले भनेका छन्, "जति फरक मृत व्यक्ति र जीवित व्यक्तिमा छ, त्यति नै फरक शिक्षित र अशिक्षितमा छ ।" शिक्षाबाट ज्ञान र ज्ञानबाट विवेकको उदय हुन्छ । शिक्षाबाट मानिसले जीवन र जगत्लाई बुझ्ने सामर्थ्य राख्छ तर धनले मानिसलाई अल्छी, लोभी, स्वार्थी र विलासी बनाउँछ । विलासिताले मानिसको विवेक नष्ट गरिदिन्छ । त्यसैले आमाबुबाको कर्तव्य भनेको सन्तानलाई उचित शिक्षा दिनु हो । सन्तानलाई धन जोडिदिन भन्दै बुबाआमाले देशविदेशमा दुःख पाउने र छोराछोरी घरमा असल शिक्षा र संस्कार नपाएर कुलतमा फसेका कैयौं घटना हामीले देखेका छौं । (जनाउ घन्टी बज्छ ।) नीतिशास्त्रमा सन्तानलाई शिक्षाबाट वञ्चित गर्ने बुबाआमा उसका ठुला शत्रु हुन् भनिएको छ । त्यसैले छोराछोरीलाई धनको चौकीदार होइन शिक्षाको हकदार बनाउनुपर्छ भन्दै आफ्ना भनाइ यहीं टुङ्ग्याउँछु । धन्यवाद !

१३. अधिकार ठुलो कि कर्तव्य ठुलो ? वादविवादको प्रस्तुति ढाँचा अनुकरण गरी पाठको पहिलो वक्ताका भनाइको खण्डन गर्नुहोस् ।

विपक्ष (अधिकार ठुलो) :
आदरणीय सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू, निर्णयको भूमिकामा रहनुभएका निर्णायक मण्डल, गुरु, गुरुआमा तथा मेरा प्रतियोगी साथीहरू र उपस्थित सम्पूर्ण विद्यार्थी मित्रहरू ! म रत्न राज्य लक्ष्मी माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत विद्यार्थी पुकार अली विषयको विपक्ष अर्थात् अधिकार ठुलो भन्ने पक्षमा आफ्ना तर्क प्रस्तुत गर्दै छु ।

सभाध्यक्ष महोदय ! अधिकार भन्नाले कानुनी, परम्परागत वा नैतिक हकलाई जनाउँछ । अधिकार भन्नेबित्तिकै कुनै पनि कुरामा आफ्नो स्वामित्व भन्ने बुझिन्छ । अधिकार त्यस्तो चिज हो जुन बच्चाले जन्मनासाथ लिएर आएको हुन्छ । मान्छेको पहिलो प्राप्ति नै अधिकार हो । पूर्ववक्ता साथीले अधिकारभन्दा कर्तव्य ठुलो हो भनेर विभिन्न तर्क राख्नुभयो । उहाँले पुराणका श्लोक कण्ठ गरेर सुनाउनुभयो । सत्यप्रतिको निष्ठा र कर्तव्यपरायणताका लागि सुकरातले हेमलक विष पिएको तर्क गर्नुभयो तर त्यो कर्तव्यपरायणताका लागि नभएर आफ्नो स्वतन्त्रताको अधिकार प्रयोग गर्दा सरकारको आँखाको तारो बनेपछि आफ्नो विचारबाट पछि हट्नुभन्दा मर्नु जाति ठानेर पिइएको थियो ।

उहाँले सरकारी कर्मचारीले मुस्कानसहितको सेवा दिने कर्तव्य पूरा गरे काम छिटो छरितो हुन्छ भन्नुभएको छ तर यदि एउटा व्यक्तिले आफूले पढ्न पाउने अधिकार नै पाएन भने त्यो कर्मचारी बनेर आफ्नो कर्तव्य कसरी निभाउन सक्छ ? पहिले त मानिसलाई मान्छे भएर जिउने अधिकार चाहिन्छ, तब मात्र कर्तव्य निभाउन सक्छ । भोको पेटले र पीडितले कर्तव्य पूरा गर्न कदापि सक्दैन । उहाँले कर्तव्यपालन पद वा ओहदामा रहेर वा नरहेर पनि गर्न सकिन्छ भन्नुभयो । यदि यस्तो हो भने पदको मर्यादाक्रम, चुनाब आदि किन भइरहेका छन् ? के यी आवश्यक छैनन् भनी उहाँलाई प्रश्न गर्न चाहन्छु । अब्राहम लिङ्कन, नेल्सन मन्डेला, महात्मा गान्धी जस्ता व्यक्तिहरू अधिकारका लागि नेतृत्वदायी भूमिका खेलेर विश्व प्रसिद्ध भएका हुन् र यसैबाट उनीहरूको महानता झल्कन्छ । जनताले स्वतन्त्रता पाउनुपर्छ भनेर अधिकारको आवाज नउठाएको भए हामी सायद निरङ्कुश शासनको थिचोमिचो सहेर बसिरहनुपर्थ्यो ।

(जनाउ घन्टी बज्छ ।)
अन्त्यमा, कर्तव्यको एकोहोरो आदर्श रटानले मात्र कसैको पेट भरिँदैन । कसैले पनि कर्तव्य पूरा गर्नका लागि पहिले अधिकार नै पाउनुपर्ने हुन्छ । यसैले कर्तव्यभन्दा अधिकार ठुलो हो भन्दै आफ्ना भनाइ यहीं बिसाउँछु । धन्यवाद !

१४. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

(क) प्रश्नहरू

(अ)गरिबी भन्नाले के बुझिन्छ ?
उत्तर: आफ्नो जीवन निर्वाह गर्नका लागि आवश्यक पर्ने गाँस, बास, कपाससमेत परिपूर्ति गर्न नसकेको अवस्थालाई गरिबी भन्ने बुझिन्छ ।
(आ)गरिबी किन बढ्छ ?
उत्तर: अशिक्षा, जनसङ्ख्या वृद्धिदरको उच्चता, बेरोजगारी, न्यून आर्थिक वृद्धिदर आदि कारणले गरिबी बढ्छ ।
(इ)गरिबी निवारणका लागि कस्ता कार्य गर्न सकिन्छ ?
उत्तर: गरिबी पहिचान गरी रोजगार तथा स्वरोजगारमूलक सिप विकास तालिम तथा शिक्षा कार्यक्रम सञ्चालनबाट गरिबी निवारण गर्न सकिन्छ ।
(ई)नेपालमा गरिबी निवारणमा ककसको भूमिका अपरिहार्य छ ?
उत्तर: नेपालमा गरिबी निवारणमा सरकारी, सहकारी, सामुदायिक, निजी र गैरसरकारी क्षेत्र एवम् विकास साझेदारको भूमिका अपरिहार्य छ ।

(ख) भाषिक संरचना र वर्णविन्यास पहिचान गर्नुहोस् :

(अ)अनुच्छेदबाट वर्तमान कालको एउटा वाक्य टिपी त्यसलाई अज्ञात पक्षमा परिवर्तन गर्नुहोस्।
उत्तर: गरिबीको कारण व्यक्ति राष्ट्रको सबै खालका अवसरमा सहभागी हुन नपाउँदा विकासको मूल प्रवाहबाट वञ्चित हुनुपर्ने अवस्था आउँछ । → गरिबीको कारण व्यक्ति राष्ट्रको सबै खालका अवसरमा सहभागी हुन नपाउँदा विकासको मूल प्रवाहबाट वञ्चित हुनुपर्ने अवस्था आएछ ।
(आ)अनुच्छेदबाट वर्तमान कालको एउटा वाक्य टिपी त्यसलाई अभ्यस्त पक्षमा परिवर्तन गर्नुहोस् ।
उत्तर: विश्वमा दिनप्रतिदिन गरिबीको समस्या बढ्दै गएको छ । → विश्वमा दिनप्रतिदिन गरिबीको समस्या बढ्दै जान्थ्यो ।
(इ)मानव विकास सूचाङ्क का आधार मा हेर्दा शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा गरिबी को प्रभाव अत्यधिक देखिने गरेको छ । भन्ने वाक्यमा त्रुटि भएका स्थानमा पदयोग गरी पुनर्लेखन गर्नुहोस् ।
उत्तर: मानव विकास सूचाङ्कका आधारमा हेर्दा शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा गरिबीको प्रभाव अत्यधिक देखिने गरेको छ ।

Post a Comment