Class 10 Nepali Lesson 5 लक्ष्मीप्रसाद देवकोटा Exercise Solutions | PragyaRoot
Class 10 Nepali Lesson 5 लक्ष्मीप्रसाद देवकोटा Exercise Solutions | PragyaRoot
पाठ ५ · जीवनी

लक्ष्मीप्रसाद देवकोटा

कक्षा १० नेपाली पाठ्यपुस्तक

शब्दभण्डार

१. दिइएका शब्द र तिनका अर्थबिच जोडा मिलाउनुहोस् :

युगपुरुष कुनै निश्चित समयसीमाभित्र महान् व्यक्तित्व स्थापित गर्न सफल व्यक्ति
नक्षत्र ज्योतिष शास्त्रअनुसार मानिसका असल खराब अवस्थाका स्थापक
जीवन शरीरमा प्राण रहेसम्मको अवस्था
धडाधड चाँडो चाँडो काम सिध्याउने गरी सरासर, धमाधम
म्याट्रिकुलेसन हालको एसइई सरहको परीक्षा
प्रज्वलित एकदम बलेको, दन्केको
परिवेष्टित चारैतिरबाट घेरिएको

२. अनुच्छेदमा रेखाङ्कन गरिएका सङ्क्षिप्त शब्दका पूरा रूप लेखी पुनर्लेखन गर्नुहोस् :

राष्ट्रिय समाचार समितिका पत्रकार मोहन प्रधानमन्त्रीको अन्तर्वार्ता लिएर घर गए । उनकी श्रीमती रमा जनता माध्यमिक विद्यालयमा प्रधानाध्यापक थिइन् । विद्यालय व्यवस्थापन समितिको बैठक सकेर निस्कँदा उनलाई ढिलो भएछ । बाटामा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक दावासँग र प्रमुख जिल्ला अधिकारी रमेशसँग रमाको भेट भएछ । उनीहरू एकछिन कुराकानी गरेर आआफ्ना घरतिर लागेछन् । रमा घर पुग्दा पत्रकार मोहन गोरखापत्रमा प्रकाशित समाचार पढेर बसेका रहेछन् ।

३. दिइएको अनुच्छेदबाट कुनै तीनओटा सिङ्गो शब्द पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् :

प्राध्यापक मेरो काका विश्वविद्यालयको प्राध्यापक हुनुहुन्छ ।
नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको हलमा मैले गाइजात्रा हेरेको छु।
त्रिभुवन विश्वविद्यालय मैले स्नातकोत्तर त्रिभुवन विश्वविद्यालयबाट पूरा गरेँ ।

४. दिइएका पद पदावलीलाई आशय खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् :

पठनपाठन हिजोआज पठनपाठनमा विद्यार्थीहरूको ध्यान नगएको देखिन्छ ।
देहावसान हुनु वि.सं. २०५८ सालमा राजा विरेन्द्रको परिवारको देहावसान भयो ।
मन्त्रमुग्ध पार्नु ओमकार टेलिभिजनको 'पञ्चामृत' कार्यक्रमले मन्त्रमुग्ध पार्छ ।
स्वर्णकाल विद्यार्थी जीवनको समय नै मेरो लागि स्वर्णकाल हो ।
भुलभुलैया सानै उमेरमा माया प्रेमको भुलभुलैयामा लागेर नारायण बिग्रियो ।
नवजात शिशु नवजात शिशुको राम्रो हेर विचार पुर्याउनु पर्छ ।

बोध र अभिव्यक्ति

३. दिइएका प्रश्नको उत्तर भन्नुहोस् :

(क)'लक्ष्मीप्रसाद देवकोटा' जीवनीमा देवकोटाको बाल्यकालको वर्णन कुन अनुच्छेदमा गरिएको छ ?
उत्तर: 'लक्ष्मीप्रसाद देवकोटा' जीवनीमा देवकोटाको बाल्यकालको वर्णन दोस्रो अनुच्छेदमा गरिएको छ ।
(ख)जीवनीको अन्तिम अनुच्छेदको सार वाक्य कुन हो ?
उत्तर: जीवनीको अन्तिम अनुच्छेदको सार वाक्य 'उनको पार्थिव शरीर यस धर्तीमा नरहे पनि उनी आफ्ना अमूल्य कृतिमा अनवरत बाँचेका छन् र अमर बनेका छन्' हो ।
(ग)जीवनीमा देवकोटाको जीवनका कठिन क्षणको वर्णन कुन सन्दर्भपछि आएको छ ?
उत्तर: देवकोटाको जीवनका कठिन क्षणको वर्णन उनको संलग्नता र योगदानको सन्दर्भपछि आएको छ ।
(घ)देवकोटाका कृतिसम्बन्धी वर्णन जीवनीको कतिऔं अनुच्छेदमा छ ?
उत्तर: देवकोटाका कृतिसम्बन्धी वर्णन जीवनीको छैटौं अनुच्छेदमा छ ।

४. दिइएको अनुच्छेद मौन पठन गर्नुहोस् र सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

(क)देवकोटाको निबन्ध सङ्ग्रहको नाम के हो ?
उत्तर: देवकोटाको निबन्ध सङ्ग्रहको नाम 'लक्ष्मी निबन्ध सङ्ग्रह' र 'दाडिमको रुखनेर' हो ।
(ख)देवकोटाका प्रसिद्ध महाकाव्य कुन कुन हुन् ?
उत्तर: देवकोटाका प्रसिद्ध महाकाव्य 'शाकुन्तल', 'सुलोचना', 'महाराणा प्रताप', 'प्रमिथस' आदि हुन् ।
(ग)देवकोटाले कुन कृतिमार्फत् लोकभाकालाई शिखरमा पुर्याए ?
उत्तर: देवकोटाले 'मुनामदन' मार्फत् लोकभाकालाई शिखरमा पुर्याए ।
(घ)देवकोटा किन सर्वोत्कृष्ट नेपाली साहित्यकारका रूपमा परिचित छन् ?
उत्तर: देवकोटाले आफ्नो जीवन अवधिमा प्रशस्त र गहकिला कविता, खण्डकाव्य, महाकाव्य, निबन्ध आदि रचना गरेकाले नेपाली साहित्यमा सर्वोत्कृष्ट कविका रूपमा प्रख्यात छन् ।

५. दिइएका घटना सन्दर्भ कुन कुन सालमा भएका हुन्, जीवनीका आधारमा लेख्नुहोस् :

(क)लक्ष्मीप्रसाद देवकोटाको जन्म
उत्तर: वि.सं. १९६६
(ख)मनदेवी चालिसेसँग विवाह
उत्तर: वि.सं. १९८९
(ग)म्याट्रिकुलेसन परीक्षा उत्तीर्ण
उत्तर: वि.सं. १९८२
(घ)आइएस्सी परीक्षा उत्तीर्ण
उत्तर: वि.सं. १९८५
(ङ)अङ्ग्रेजी पढ्न दरबार हाइस्कुलमा भर्ना
उत्तर: वि.सं. १९७७
(च)अफ्रो एसियाली लेखक सम्मेलनमा सहभागी
उत्तर: वि.सं. २०१५
(छ)डा. के. आई. सिंहको मन्त्रिमण्डलमा शिक्षामन्त्रीमा नियुक्त
उत्तर: वि.सं. २०१३

६. दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :

(क) लक्ष्मीप्रसाद देवकोटाको व्यक्तिगत जीवनमा कस्ता कस्ता उतारचढाव आए, उनको जीवनीका आधारमा लेख्नुहोस् ।

उत्तर: लक्ष्मीप्रसाद देवकोटाको जीवन सङ्घर्ष र पीडाले भरिएको थियो । २५-२६ वर्षको उमेरमै उनले बुबा, आमा र छोरी गुमाउनुपर्यो, जसले उनलाई गहिरो मानसिक आघात पुर्यायो । उनले 'पागल' को सङ्ज्ञा समेत भोग्नुपर्यो । जीवनको उत्तरार्धमा क्यान्सर जस्तो असाध्य रोगले चाप्दा एकातिर असह्य पीडा थियो भने अर्कोतिर उपचारको आर्थिक अभावले निरन्तर प्रताडित रह्यो । लक्ष्मीपूजाका दिन जन्मे पनि धनकी देवीले उनलाई साथ दिइनन् । तैपनि यी उतारचढावले उनको सिर्जनशीलता र राष्ट्रप्रतिको समर्पणलाई कहिल्यै डगमगाउन सकेन ।

(ख) देवकोटामा रहेको देशप्रेम र क्रान्ति चेतनाको वर्णन गर्नुहोस् ।

उत्तर: लक्ष्मीप्रसाद देवकोटाको सम्पूर्ण जीवन र साहित्य देशप्रेमले ओतप्रोत छ । उनले नेपालको प्रकृति, धर्ती र भाषालाई आत्मीय माया गर्दै साहित्य सिर्जना गरे । बिरामी अवस्थामा भारतमा उपचार गराउँदा पनि विदेशमा मर्नुभन्दा स्वदेश फर्कने उनको अठोट देशभक्तिको ज्वलन्त उदाहरण हो । राणाहरूको निरङ्कुशताले उनको प्रतिभालाई कहिल्यै थुन्न सकेन । प्रजातन्त्रको आन्दोलन चर्कँदा उनको कलम विद्रोहको हतियार बन्यो । उनी प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भए र 'युगवाणी' पत्रिकामार्फत् निरङ्कुशताको जग हल्लाउने साहसिक कदम चाले ।

(ग) देवकोटालाई आशुकविका रूपमा चिनाउनुहोस् ।

उत्तर: आशुकवि भन्नाले तत्काल उच्चस्तरीय कविता रचना गर्न सक्ने असाधारण प्रतिभा भन्ने बुझिन्छ र देवकोटा यसका मूर्त रूप थिए । उनी कुराकानीकै क्रममा कविताको भाकामा बोल्न सक्थे । उनले तीन महिनामा 'शाकुन्तल' महाकाव्य, १० दिनका ६० घण्टामा 'सुलोचना' र एकै रातमा 'कुञ्जिनी' खण्डकाव्य रचेर साहित्य जगतलाई चकित पारे । हिँड्दाहिँड्दै, बस्दाबस्दै धाराप्रवाह कविता लेख्ने उनको क्षमता अतुलनीय थियो । कुनै पनि दृश्य वा घटनालाई तत्काल कवितामय भाषामा ढाल्न सक्ने यिनै विशेषताले उनलाई सच्चा आशुकवि सिद्ध गर्छ ।

(घ) 'लक्ष्मीप्रसाद देवकोटा' को जीवनीबाट कस्तो सन्देश पाइन्छ, लेख्नुहोस् ।

उत्तर: लक्ष्मीप्रसाद देवकोटाको जीवनी प्रतिकूलतामा पनि हार नमानी निरन्तर साधनामा लाग्ने प्रेरणाको दस्तावेज हो । पारिवारिक वियोग, आर्थिक अभाव र राजनैतिक दमनका बाबजुद उनले जुन स्तरका कृति रचना गरे, त्यसले विषम परिस्थितिमा पनि लक्ष्यबाट विचलित हुनुहुँदैन भन्ने पाठ सिकाउँछ । उनले नेपाली भाषा र साहित्यलाई विश्वसामु चिनाए । मानवताको भाव बोकेर समाज र राष्ट्रको कुनै न कुनै क्षेत्रमा विशेष योगदान पुर्याउन सक्नुपर्छ भन्ने सन्देश उनको जीवनीले दिएको छ ।

७. व्याख्या गर्नुहोस् :

(क) देवकोटाको महासागर जस्तो प्रतिभा राणाहरूको निरङ्कुशताको साँघुरो सुरुङभित्र कसरी बग्न सक्थ्यो र ?

उत्तर: प्रस्तुत वाक्यांश कक्षा १० को नेपाली पाठ्यपुस्तकमा सङ्कलित 'लक्ष्मीप्रसाद देवकोटा' जीवनीबाट उद्धृत गरिएको हो । देवकोटाको कलम चल्दा नेपाल राणाहरूको निरङ्कुश शासनको चपेटामा थियो । खुलेर साहित्य सिर्जना गर्न नपाइने त्यो प्रतिकूल समयमा पनि उनको साहित्यिक व्यक्तित्व कहिल्यै मुर्झाएन, बरु झनै फक्रिरह्यो र फुलिरह्यो । उनको कलम साँघुरो सुरुङभित्र कहिल्यै सीमित रहेन ।

मुलुकमा प्रजातन्त्र प्राप्तिको आन्दोलन चर्कँदै गर्दा उनले पनि विद्रोहको बाटो समाते । वि.सं. २००४ मा उनी प्रजातान्त्रिक आन्दोलनमा संलग्न भए र बनारसबाट प्रकाशित 'युगवाणी' पत्रिकामार्फत् निरङ्कुशताविरुद्ध विद्रोहको वाणी फुके । काठमाडौंमा पुस्तकालय खोली राणाविरोधी चेतना फैलाउन खोज्दा 'लाइब्रेरी पर्व' जस्तो घटना पनि भयो । यति हुँदाहुँदै पनि उनले बिजुलीको वेगमा अनवरत साहित्य रचना गरी नेपाली साहित्यलाई सङ्ख्यात्मक र गुणात्मक दुवै रूपले समृद्ध तुल्याए । राणाहरूको धरपकड र त्रासका बाबजुद यो तहको सिर्जना गर्नुले देवकोटाको प्रतिभा कहिल्यै नरोकिएको स्पष्ट हुन्छ । जसरी महासागरको पानी साँघुरो सुरुङमा अटाउन सक्दैन, त्यसरी नै राणाको निरङ्कुशताभित्र देवकोटाको विराट् प्रतिभा सीमित हुन सकेन । उनको प्रतिभा विश्वभर फैलियो र नेपाली साहित्यले विश्वस्तरको प्रौढता हासिल गर्यो ।

यसरी निष्कर्षमा, राणाकालीन दमन र प्रतिबन्धका बाबजुद देवकोटाको सिर्जनशीलता निरन्तर बगिरह्यो । उनको प्रतिभा कुनै राजनैतिक साँघुरो घेराभित्र सीमित हुन सकेन । बरु त्यही दमनले उनलाई झनै विद्रोही र सशक्त बनायो । देवकोटाको महासागर जस्तो प्रतिभा राणाको साँघुरो सुरुङभित्र कसरी बग्न सक्थ्यो र भन्ने भाव यस जीवनीमा व्यक्त भएको पाइन्छ ।

(ख) हिउँको माझमा जन्मेको हाम्रो साहित्य कहिल्यै पनि एउटै पर्वत शृङ्खलाको भुलभुलैयामा बिलाउने छैन ।

उत्तर: प्रस्तुत वाक्यांश कक्षा १० को नेपाली पाठ्यपुस्तकमा सङ्कलित 'लक्ष्मीप्रसाद देवकोटा' जीवनीबाट उद्धृत गरिएको हो । वि.सं. २०१५ मा तत्कालीन सोभियत सङ्घमा भएको 'अफ्रो एसियाली लेखक सम्मेलन' मा भाग लिँदा देवकोटाले यो महत्त्वाकाङ्क्षी विचार प्रस्तुत गरेका थिए ।

देवकोटाको प्रतिभा विश्वभर फैलिसकेको थियो र नेपाली साहित्यले विश्व साहित्यकै हाराहारीको प्रौढता हासिल गरिसकेको थियो । उनले नेपाली भाषा र साहित्यलाई विश्वसामु प्रभावकारी ढङ्गले चिनाइसकेका थिए । सो सम्मेलनमा उनले नेपाली साहित्य विश्व साहित्यसँगै हातेमालो गरेर अगि बढ्ने विचार सारगर्भित पाराले व्यक्त गरे । नेपाली साहित्य हिमाल र पर्वतशृङ्खलाको भुलभुलैयामा सीमित नरहने र विश्व साहित्यकै स्तरमा विकास हुने उनले विश्वास व्यक्त गरे । हाम्रो साहित्य पनि एउटै प्रवाहमा मिलेर एसिया र अफ्रिकालाई परिवेष्टित गर्ने असीम महासागरमा समाहित हुने उनको आँकलन थियो । यस महासागरद्वारा सिञ्चित साहित्य पहिलेभन्दा सुन्दर र सम्पन्न बनेर पुन: हाम्रै पहाडमा बर्सने कुराले उनको नेपाली साहित्यप्रतिको गहिरो प्रेम झल्किन्छ ।

यसरी निष्कर्षमा, देवकोटाको यो भनाइ नेपाली साहित्यको भविष्यप्रतिको अटल विश्वासको परिचायक हो । नेपाली साहित्य कुनै साँघुरो भुगोलमा सीमित नरही विश्व साहित्यको विशाल महासागरमा मिसिने उनको दूरदर्शी सोच थियो । हाम्रो साहित्य कहिल्यै पनि एउटै पर्वतको भुलभुलैयामा बिलाउने छैन भन्ने भाव यस जीवनीमा अभिव्यक्त भएको देखिन्छ ।

८. लक्ष्मीप्रसाद देवकोटाको साहित्यिक योगदानको समीक्षा गर्नुहोस् ।

उत्तर: विराट् प्रतिभाशाली महाकवि लक्ष्मीप्रसाद देवकोटा (वि.सं. १९६६-२०१६) नेपाली साहित्यका अतुलनीय योगदान दिने चिरस्मरणीय स्रष्टा हुन् । नेपालको प्रकृति, धर्ती, संस्कृति र भाषा साहित्यलाई मुटुदेखि माया गर्दै सिर्जना गर्ने देवकोटा नेपाली साहित्यका युगपुरुष हुन् । त्रिचन्द्र कलेजबाट बी.ए. सम्मको शिक्षा हासिल गरेका उनले दरबार हाइस्कुल पढ्दादेखि नै कविता लेख्न सुरु गरेका थिए । उनले अङ्ग्रेजीमा कविता लेखेर शिक्षक र सहपाठीलाई समेत चकित पारेका थिए ।

देवकोटाले बिजुलीको वेगमा अनवरत साहित्य रचना गरे । उनले सङ्ख्यात्मक र गुणात्मक रूपले सर्वाधिक कृति रचना गरी नेपाली साहित्यलाई समृद्ध तुल्याए । 'शाकुन्तल', 'सुलोचना', 'महाराणा प्रताप' जस्ता प्रसिद्ध महाकाव्य, 'मुनामदन', 'कुञ्जिनी', 'लुनी' जस्ता दर्जनौं खण्डकाव्य र 'यात्री', 'पागल' जस्ता सयौं कविता उनले लेखे । 'लक्ष्मी निबन्ध सङ्ग्रह' र 'दाडिमको रुखनेर' मा सङ्कलित उनका निबन्ध अत्यन्त गहकिला छन् । 'सावित्री सत्यवान' नाटक र 'चम्पा' उपन्यास पनि उनले लेखे । 'मुनामदन' मार्फत् ओझेल परेको झ्याउरे छन्दलाई उनले शिखरमा पुर्याए ।

देवकोटाको सिर्जनाको गति र क्षमता अद्वितीय थियो । उनी कुरा गर्दागर्दै कविता लेख्न सक्थे र कवितै कवितामा कुराकानी गर्न सक्थे । तीन महिनामा 'शाकुन्तल' महाकाव्य, १० दिनका ६० घण्टामा 'सुलोचना' र एकै रातमा 'कुञ्जिनी' खण्डकाव्य लेखेर उनी आशुकवि सिद्ध भए । हिँड्दाहिँड्दै, बस्दाबस्दै धाराप्रवाह कविता लेख्ने उनको क्षमता अतुलनीय थियो । साहित्य सिर्जनाका साथै उनी त्रिचन्द्र कलेजका प्राध्यापक र २०१३ सालमा शिक्षामन्त्री पनि भए । राणाकालीन दमन र प्रतिबन्धका बाबजुद उनको कलम कहिल्यै रोकिएन । प्रजातन्त्रको आन्दोलनमा संलग्न भई 'युगवाणी' पत्रिकामार्फत् निरङ्कुशताविरुद्ध विद्रोहको वाणी पनि फुके । क्यान्सरका कारण मृत्युशैयामा छटपटाउँदा पनि उनले सिर्जना गर्न छोडेनन् ।

नेपाली कविताको अहिलेसम्मको यात्रामा प्रतिभा, रचना परिमाण र गुणस्तरका दृष्टिले देवकोटा सर्वोच्च कवि मानिएका छन् । उनले विश्व समुदायमा नेपाली जाति र भाषाको शिर उच्च पारे । लगातार चार दशकसम्म विभिन्न विधाका दर्जनौं कृति रचना गरी उनले नेपाली साहित्यलाई विश्व साहित्यकै हाराहारीको प्रौढताको शिखरमा पुर्याए । वि.सं. २०१५ मा सोभियत सङ्घमा भएको 'अफ्रो एसियाली लेखक सम्मेलन' मा भाग लिई उनले नेपाली साहित्यलाई विश्वसामु चिनाए । उनको पार्थिव शरीर यस धर्तीमा नरहे पनि उनी आफ्ना अमूल्य कृतिमा अनवरत बाँचेका छन् र अमर बनेका छन् ।

९. दिइएको अनुच्छेदबाट मुख्य मुख्य चारओटा बुँदा टिपी सारांश लेख्नुहोस् ।

बुँदा टिपोट:
  • भाषाको काम समाज तथा व्यक्तिको आवश्यकता पूर्ति गर्नु रहेको
  • नेपाली भाषामा अभिव्यक्ति क्षमता र नयाँ शब्दलाई आत्मसात् गर्ने क्षमता रहेको
  • नेपाली भाषाका वक्तामा अरू भाषाका शब्द प्रयोग नगर्ने प्रतिबद्धता हुनुपर्ने
  • भाषा नेपालको मौलिक पहिचानसँग गाँसिएको हुनाले भाषिक आत्मनिर्भरतातिर सोच र प्रयास हुनुपर्ने
सारांश लेखन:
नेपाली भाषाको संरक्षण
भाषाको काम समाज तथा व्यक्तिको आवश्यकता पूर्ति गर्नु हो । नेपाली भाषामा अभिव्यक्ति क्षमता र नयाँ शब्दलाई आत्मसात् गर्ने क्षमता रहेको छ । नेपाली भाषाका वक्तामा अरू भाषाका शब्द प्रयोग नगर्ने प्रतिबद्धता हुनुपर्छ । भाषा नेपालको मौलिक पहिचानसँग गाँसिएको हुनाले भाषिक आत्मनिर्भरतातिर हाम्रो सोच र प्रयास हुनुपर्छ ।

अनुच्छेदमा दिइएको शब्द सङ्ख्या: ११७
सारांशमा हुनुपर्ने शब्द सङ्ख्या: ४०
सारांशमा भएको शब्द सङ्ख्या: 45

११. लक्ष्मीप्रसाद देवकोटाको जीवनी पढेपछि तपाईंलाई भविष्यमा कस्तो व्यक्ति बनूँ जस्तो लाग्यो, लेख्नुहोस् ।

उत्तर: लक्ष्मीप्रसाद देवकोटाको जीवनी पढेपछि मलाई भविष्यमा असल र समाजसेवी व्यक्ति बनूँ जस्तो लागेको छ । मसँग देवकोटा जस्तो अद्वितीय प्रतिभा नभए पनि आफ्नो क्षमता र हैसियतले भ्याएसम्म समाजको कुनै क्षेत्रमा योगदान पुर्याउने इच्छा जागेको छ । साहित्य वा कलाको क्षेत्रमा काम गर्न नसके पनि एउटा समाजसेवी भएर अरूको सेवा गर्न मन लागेको छ । हामीले व्यक्तिगत खुसी मात्र हेरेर नहुने रहेछ । एउटा सामाजिक र चेतनशील प्राणी भएको नाताले अरूको लागि पनि काम गर्नुपर्ने रहेछ । म पहिला राम्रोसँग अध्ययन पूरा गर्नेछु अनि सफल र असल मान्छे बनेर समाजको हितमा लाग्नेछु ।

१२. 'देवकोटा छाँगो छङ्छङाए झैं कविता लेख्ने कवि हुन्' भन्ने भनाइप्रति सहमति प्रकट गर्दै पाठक प्रतिक्रिया लेख्नुहोस् ।

उत्तर: 'देवकोटा छाँगो छङ्छङाए झैं कविता लेख्ने कवि हुन्' भन्ने भनाइप्रति मेरो पूर्ण सहमति रहेको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपाली भाषा साहित्यलाई मुटुदेखि माया गर्दै सिर्जना गर्ने युगपुरुष हुन् । उनी छाँगो झरेझैं विजुलीको वेगमा कविता लेख्थे । लगातार चार दशकसम्म विभिन्न विधाका दर्जनौं कृति रचना गरी उनले नेपाली साहित्यलाई समृद्ध तुल्याए । उनी कुरा गर्दागर्दै कविता लेख्न सक्थे र कवितै कवितामा कुराकानी गर्न सक्थे । तीन महिनामा 'शाकुन्तल' महाकाव्य, १० दिनका ६० घण्टामा 'सुलोचना' र एकै रातमा 'कुञ्जिनी' खण्डकाव्य लेखेर उनले आफ्नो आशुकवित्वको परिचय दिए । हिँड्दाहिँड्दै, बस्दाबस्दै धाराप्रवाह कविता लेख्ने उनको क्षमता अद्वितीय थियो । उनले छोटो समयमा मात्र होइन, स्तरीय र गहन कृति पनि लेखे । त्यसैले छाँगो छङ्छङाए झैं उनका कलमबाट सिर्जना फुरिरहन्थे भन्ने कुरामा कुनै दुई मत छैन ।

१३. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

(क) प्रश्नहरू

(अ)चट्याङ भनेको के हो ?
उत्तर: समुद्र सतहभन्दा १५ हजारदेखि २५ हजार फिटमाथि आकाशमा उत्पन्न विद्युतको प्रवाह चट्याङ हो ।
(आ)चट्याङ कसरी पर्छ ?
उत्तर: जब बादलमा भएका कण आवेशित भएर धन र ऋण आवेशमा परिवर्तित हुन्छन् तब विद्युत उत्पन्न हुन्छ । यो करेन्टले कहिलेकाहीँ पृथ्वीको सतहमा उच्च भोल्टेजले ठक्कर खान्छ र चट्याङ पर्छ ।
(इ)चट्याङ परेका वेला गर्न नहुने काम के के हुन् ?
उत्तर: चट्याङ परेका वेला अग्लो वस्तु, रुख, गाडी, खुला ठाउँ, झन्डा, पाइप वा बाँसनजिक र विद्युतीय वस्तुनजिक जानुहुँदैन ।
(ई)चट्याङबाट हुने दुर्घटनाबाट कसरी बच्न सकिन्छ ?
उत्तर: चट्याङबाट हुने दुर्घटनाबाट बच्न पक्की भवनमा आश्रय लिनुपर्छ ।

Post a Comment