Class 10 Nepali Lesson 8 नेपाली हाम्रो श्रम र सिप Exercise Solutions | PragyaRoot
Class 10 Nepali Lesson 8 नेपाली हाम्रो श्रम र सिप Exercise Solutions | PragyaRoot
पाठ ८ · कविता

नेपाली हाम्रो श्रम र सिप

कवि: मुकुन्दशरण उपाध्याय | कक्षा १० नेपाली पाठ्यपुस्तक

शब्दभण्डार

१. दिइएका शब्दको अर्थ लेख्नुहोस् :

कला कुनै काम राम्रोसँग गर्ने सिप
श्रम कुनै कामका निम्तिको मानवीय चेष्टा
सितो पाकेको चामलको दानो
आलस्य काम गर्ने जाँगर नभएको अवस्था
रहस्य भित्री आशय
सम्पदा प्राकृतिक देन
चोखो शुद्ध, पवित्र
स्वर्ग सुन्दर ठाउँ

२. 'नेपाली हाम्रो श्रम र सिप' कविताबाट पाँच जोडी लय मिल्दा शब्द पहिचान गरी लेख्नुहोस् ।

बाँच्ने छ : साँच्ने छ, नखाए : नलाए, गाएको : पाएको, सखार : हजार, बगाऊँ : लगाऊँ

३. दिइएको अनुच्छेदबाट समान संरचनायुक्त शब्द पहिचान गरी अर्थ पहिल्याउनुहोस् :

हाम्रो विद्यालयका १० कक्षाका सारा विद्यार्थी बस चढेर बारा घुम्न हिँड्यौं । वर्षायाम थियो । वेगसँग मेघ गर्यो । रातो माटो र चिप्लो बाटो थियो । बाटामा बस गुड्डु गुड्दै थियो । पानी दरर दर्कदै थियो । बरर असिना बर्सदै थियो । हाम्रो बस टक्क अडियो । बसबाट सट्ट झरियो । हामीले कुन ठाउँ हो भन्ने भेउ नपाए पनि एउटा होटलको छेउमा बस रोकिएको रहेछ । हामी गएपछि होटल खचाखच भयो । केहीलाई होटलका बुढामान्छेले मुढा दिए । हामी मुढामा बस्यौं।
शब्द: गुड्डु, दरर, बरर, टक्क, सट्ट, खचाखच
अर्थ: सबै अनुकरणात्मक शब्द हुन् ।

४. दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् :

स्वदेश विदेशको मोह त्यागेर स्वदेशमै केही गर्ने अठोट लिनुपर्छ ।
पसिना किसानले खेतबारीमा पसिना बगाएर अन्न उब्जाउँछन् ।
सिप हातमा सिप भएको मानिसले कहिल्यै भोकै बस्नु पर्दैन ।
पुर्खा हाम्रा पुर्खाले आर्जेको यो भूमि हामीले जोगाइराख्नुपर्छ ।
भाषा मातृभाषाको उन्नतिले नै राष्ट्रिय पहिचान बलियो हुन्छ ।
सितो मिहिनेतले कमाएको अन्नको एक एक सितो पनि खेर फाल्नु हुँदैन ।
विज्ञान विज्ञानको सही प्रयोगले मानव जीवन सहज बन्दै गएको छ ।

५. तपाईंको समाजमा प्रचलित चाडपर्वसँग सम्बन्धित छओटा शब्द टिपोट गरी वाक्यमा प्रयोग गर्नुहोस् ।

टीका हामी आफूभन्दा ठुलाको हातबाट दशैंमा टीका लगाउँछौँ ।
व्रत कहिलेकाहीँ व्रत बस्नु स्वास्थ्यको हिसाबले राम्रो मानिन्छ ।
होली होली रङहरूको चाड हुनाले मलाई मन पर्छ ।
जमरा दशैंमा टीका लगाएपछि कान र शिरमा जमरा लगाउने चलन छ ।
कथा 'नेपालका चर्चित हास्यकलाकारहरू' भन्ने किताबमा नेपाली हास्यव्यङ्ग्य कलाकारको जीवनकथा समेटिएको छ ।

बोध र अभिव्यक्ति

३. दिइएका प्रश्नको उत्तर भन्नुहोस् :

(क)'नेपाली हाम्रो श्रम र सिप' कविताको अन्तिम श्लोक वाचन गर्नुहोस् र उक्त श्लोकका हरेक पङ्क्तिमा कति कति ओटा शब्द छन्, भन्नुहोस् ।
उत्तर: छ/छ ओटा
(ख)उक्त श्लोकका हरफहरूको अन्त्यमा समान ध्वनि भएका दुई जोडी शब्द भन्नुहोस् ।
उत्तर: बाँच्ने छ : साँच्ने छ, बनाऊँ : लगाऊँ
(ग)आशिष् दिने प्रसङ्ग कविताको कुन श्लोकको कुन पङ्क्तिमा आएको छ ?
उत्तर: अन्तिम श्लोकको तेस्रो पङ्क्तिमा
(घ)'नेपाली हाम्रो श्रम र सिप स्वदेशमै लगाऊँ' भन्ने पङ्क्ति कवितामा कतिपटक पुनरावृत्ति भएको छ ?
उत्तर: तीनपटक

४. दिइएको कवितांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् ।

(क)पहाडले पसिना खोजेको आशय खुलाउनुहोस् ।
उत्तर: पहाडले पसिना खोज्नुको आशय आफूलाई अत्यन्त रमणीय स्थान बनाउन हो ।
(ख)तराईलाई सिँचाइ किन चाहिएको हो ?
उत्तर: तराईलाई सिँचाइ धेरै धान फलाउनलाई चाहिएको हो ।
(ग)होस्टेमा हैंसे गर्दा देशलाई कस्तो फाइदा पुग्छ ?
उत्तर: होस्टेमा हैंसे गर्दा देशका सबै समस्याहरू समाधान गर्न सजिलो हुन्छ ।
(घ)'श्रम र सिपलाई स्वदेशमै लगाउनुपर्छ' भन्ने भनाइलाई पुष्टि गर्नुहोस् ।
उत्तर: देशको विकास गर्नु छ भने हामीसित भएको क्षमताको प्रयोग स्वदेशमै गर्नुपर्छ ।

५. दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :

(क) नेपाली धर्ती विश्वमै महान् छ भन्ने भनाइलाई कविताका आधारमा वर्णन गर्नुहोस् ।

'नेपाली हाम्रो श्रम र सिप' कवितामा नेपाली धर्तीको महत्त्वलाई सुन्दर ढङ्गले प्रस्तुत गरिएको छ । भौगोलिक रूपमा हिमाल, पहाड र तराईमा विभाजित यो धर्तीले विभिन्न सम्भावनाहरू बोकेको छ । हिमाली भाग हिउँको सौन्दर्य र जडीबुटी उत्पादनका लागि महत्त्वपूर्ण छ भने पहाडी भूभाग तरकारी, फलफूल र पशुपालनका लागि उर्वर छ । तराई क्षेत्र खाद्यान्नको भण्डारको रूपमा रहेको छ । यो भूमि हाम्रा पुर्खाको पौरख र पसिनाले निर्माण भएको हो । प्राचीनकालमा ऋषिहरूको तपोभूमिका रूपमा रहेको यो धर्ती पूर्वीय सभ्यताको उद्गमस्थल पनि हो । त्यसैले सबैले होस्टेमा हैंसे गर्दै श्रम र सिप यही भूमिमा लगाउन सके यो देश अझ सुन्दर र समृद्ध बन्ने कुरा कवितामा व्यक्त भएको छ ।

(ख) कवितामा धार्मिक विविधतालाई कविले कसरी चिनाएका छन् ?

'नेपाली हाम्रो श्रम र सिप' कवितामा कवि मुकुन्दशरण उपाध्यायले नेपालको धार्मिक विविधतालाई प्रभावकारी रूपमा चित्रण गरेका छन् । कवितामा वेद, मुन्धुम र धम्मपद जस्ता प्रमुख धार्मिक ग्रन्थहरूको उल्लेख गरिएको छ । वेद हिन्दू धर्मको प्राचीनतम ग्रन्थ हो भने मुन्धुम किरात समुदायको मौलिक धार्मिक कृति हो । त्यस्तै धम्मपद बौद्ध दर्शनसँग सम्बन्धित महत्त्वपूर्ण ग्रन्थ हो । यी तीन भिन्न धार्मिक परम्पराका ग्रन्थहरूलाई एउटै कवितामा समावेश गरेर कविले नेपालमा रहेको धार्मिक विविधता र सहिष्णुताको सुन्दर चित्रण गरेका छन् । यसरी कविले नेपाललाई बहुधार्मिक सद्भावको प्रतीकका रूपमा प्रस्तुत गरेका छन् ।

(ग) कविताको दोस्रो श्लोकको विषयवस्तु वर्णन गर्नुहोस् ।

'नेपाली हाम्रो श्रम र सिप' कविताको दोस्रो श्लोकले सामाजिक न्याय र समानताको भावना बोकेको छ । यस श्लोकमा कविले नेपाली समाजमा रहेको आर्थिक विषमताप्रति चिन्ता व्यक्त गर्दै एक जना पनि नेपालीले भोकै र नाङ्गै बस्नु नपरोस् भन्ने कामना गरेका छन् । एक जनाले खान नपाउनु भनेको सम्पूर्ण नेपालीले खान नपाए सरह हो भन्ने भावना कवितामा अभिव्यक्त भएको छ । त्यसैले हामी सबै मिलेर खाना नहुनेलाई खाना र लाउन नहुनेलाई लुगाको व्यवस्था गर्न तयार हुनुपर्छ भन्ने मानवीय सन्देश यस श्लोकले दिएको छ । सामूहिक उत्तरदायित्व र परोपकारको यो भावना नै दोस्रो श्लोकको मुख्य विषयवस्तु हो ।

(घ) 'नेपाली हाम्रो श्रम र सिप' कविताको मूल भाव के हो ?

'नेपाली हाम्रो श्रम र सिप' कविता मुकुन्दशरण उपाध्यायद्वारा झ्याउरे छन्दमा रचित राष्ट्रप्रेमको भावना बोकेको कविता हो । यस कविताको मूल भाव नेपालीहरूले आफ्नो श्रम र सिप स्वदेशमै लगाउनुपर्छ भन्ने रहेको छ । नेपालको भौगोलिक विविधता, प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र धार्मिक सहिष्णुताको चर्चा गर्दै कविले यो धर्ती विश्वमै महान् रहेको बताएका छन् । यस्तो गौरवमय भूमिमा आलस्य र हीनताको भाव त्यागेर सबै मिलेर परिश्रम गर्नुपर्छ भन्ने कुरामा जोड दिइएको छ । सबै नेपालीले गाँस र बासको सुनिश्चितता पाउने अवस्था सिर्जना गर्नुपर्छ । समग्रमा, स्वदेशमै श्रम र सिप लगाएर देशलाई समृद्ध बनाउनुपर्छ भन्नु नै यस कविताको मूल भाव हो ।

७. दिइएका कविताका पङ्क्तिलाई व्याकरणिक क्रम मिलाएर लेख्नुहोस् ।

(क)पूर्वले दियो विश्वकै लागि रहस्य विशाल
उत्तर: विश्वकै लागि रहस्य विशाल पूर्वले दियो ।
(ख)विश्वमै छैन धरती महान् यो देश समान
उत्तर: यो देश समान महान् धरती विश्वमै छैन ।
(ग)नेपाल आमा यो दिव्य आभा जगाऊँ कसरी
उत्तर: नेपाल आमा यो दिव्य आभा कसरी जगाऊँ ।
(घ)आलस्य निद्रा हीनता सारा भगाऊँ कसरी
उत्तर: आलस्य निद्रा हीनता सारा कसरी भगाऊँ ।

८. भाव विस्तार गर्नुहोस् :

(क) नेपाल बाँचे नेपाली हाम्रो गौरव बाँच्ने छ
नेपाली भाषा संस्कृति कला साहित्य साँच्ने छ ।

प्रस्तुत कवितांश कक्षा १० को नेपाली पाठ्यपुस्तकमा सङ्कलित मुकुन्दशरण उपाध्यायद्वारा रचित 'नेपाली हाम्रो श्रम र सिप' कविताबाट साभार गरिएको हो । मुकुन्दशरण उपाध्याय नेपाली साहित्यका राष्ट्रप्रेमी साधक हुन् । नेपालको अस्तित्व नै नेपालीको गौरवको आधार भएको र नेपाल बाँचे मात्र यहाँको भाषा, संस्कृति र साहित्य बाँच्ने सन्दर्भमा यो कवितांश आएको हो । नेपालको अस्तित्वसँग नै नेपालीको पहिचान गाँसिएको हुन्छ भन्ने भाव माथिको पङ्क्तिमा पाइन्छ ।

नेपालको अस्तित्व र नेपालीको गौरव एकअर्कासँग अभिन्न रूपमा जोडिएको छ । नेपाल बाँचेको अवस्थामा मात्र नेपाली जातिको गौरव र पहिचान जीवित रहन्छ । नेपालको भाषा, संस्कृति, कला र साहित्य हाम्रो अमूल्य सम्पदा हुन् जसले विश्वमा हाम्रो छुट्टै पहिचान स्थापित गरेको छ । यदि नेपालको अस्तित्व सङ्कटमा पर्यो भने यी सबै पहिचान धरापमा पर्नेछन् । त्यसैले हामीले नेपाललाई जोगाउन र बचाउन आफ्नो सम्पूर्ण श्रम र सिप यही भूमिमा लगाउनुपर्छ । पहाडका बाँझा जमिनलाई हराभरा बनाउने, तराईका फाँटहरूमा सिँचाइ पुर्याएर अन्नको भण्डार बनाउने जस्ता कार्यहरूबाट नेपाललाई समृद्ध बनाउन सकिन्छ । नेपाल बाँचे मात्र नेपाली भाषा, संस्कृति, कला र साहित्यको संरक्षण र संवर्धन सम्भव हुन्छ भन्ने कुरा कवितांशले स्पष्ट पारेको छ ।

यसरी निष्कर्षमा, नेपाल र नेपालीको सम्बन्ध आमा र सन्तानको जस्तै अतूट छ । नेपालको अस्तित्व नै नेपालीको गौरवको मूल जरो हो । नेपाल बाँचे मात्र यहाँको भाषा, संस्कृति, कला र साहित्य जीवित रहन्छन् र पुस्तौंपुस्तासम्म हस्तान्तरण हुन्छन् । त्यसैले हामी सबैले नेपाललाई बचाउन र समृद्ध बनाउन आआफ्नो श्रम र सिप स्वदेशमै लगाउनुपर्छ । नेपाल बाँचे नेपालीको गौरव बाँच्नेछ भन्ने भाव यस कवितांशमा अभिव्यक्त भएको पाइन्छ ।

(ख) आशिष देऊ एकै र फेरि पसिना बगाऊँ
नेपाली हाम्रो श्रम र सिप स्वदेशमै लगाऊँ ।

प्रस्तुत कवितांश कक्षा १० को नेपाली पाठ्यपुस्तकमा सङ्कलित मुकुन्दशरण उपाध्यायद्वारा रचित 'नेपाली हाम्रो श्रम र सिप' कविताबाट साभार गरिएको हो । मुकुन्दशरण उपाध्याय नेपाली साहित्यका राष्ट्रप्रेमी साधक हुन् । कविले नेपाल आमासँग आफूले स्वदेशमै श्रम र सिप लगाउन पाऊँ भनेर आशीर्वाद मागेको सन्दर्भमा यो कवितांश आएको हो । नेपालीहरूले आफ्नो श्रम र सिप विदेशमा नभई स्वदेशमै लगाउनुपर्छ भन्ने आशय माथिको हरफमा लुकेको छ ।

कविले नेपाल आमासँग एकै पटक भए पनि आशीर्वाद मागेका छन् कि उनले आफ्नो सम्पूर्ण पसिना स्वदेशकै उन्नतिमा बगाउन पाऊन् । विदेशी भूमिमा गएर श्रम गर्दा त्यसको लाभ अर्कै देशलाई पुग्छ तर स्वदेशमा गरिएको श्रमले आफ्नै मातृभूमिको उत्थान हुन्छ । नेपाल विश्वमै महान् धर्ती हो जहाँ प्राचीनकालदेखि नै वेद, मुन्धुम र धम्मपद जस्ता महान् दर्शनहरूको विकास भएको थियो । यस्तो गौरवमय भूमिमा आफ्नो श्रम र सिप लगाउन पाउनु नै ठुलो सौभाग्य हो । कविले आलस्य, निद्रा र हीनताको भाव त्यागेर राष्ट्र निर्माणमा जुट्ने सङ्कल्प गरेका छन् । पहाडलाई स्वर्ग बनाउने र तराईलाई सिँचाइले हराभरा बनाउने कार्यमा आफ्नो श्रम लगाउन चाहन्छन् । यसरी कविले नेपाल आमासँग आफ्नो श्रम र सिप स्वदेशमै लगाउन पाउने आशीर्वाद मागेका छन् ।

यसरी निष्कर्षमा, कविको यो प्रार्थना सम्पूर्ण नेपालीको तर्फबाट गरिएको हो । हामी सबैले आफ्नो श्रम र सिप स्वदेशमै लगाएर देशलाई समृद्ध बनाउनुपर्छ भन्ने सन्देश यस कवितांशले दिएको छ । विदेशको मोह त्यागेर स्वदेशमै केही गर्ने अठोटले मात्र राष्ट्रको उन्नति सम्भव छ । नेपालीको श्रम र सिप स्वदेशमै लगाउन पाऊँ भन्ने भाव यस कवितांशमा व्यक्त भएको पाइन्छ ।

९. श्रम र सिपलाई स्वदेशमै कसरी उपयोग गर्न सकिन्छ, कविताका आधारमा समीक्षा गर्नुहोस् ।

मुकुन्दशरण उपाध्यायद्वारा रचित 'नेपाली हाम्रो श्रम र सिप' झ्याउरे छन्दमा लेखिएको राष्ट्रिय भावनाले ओतप्रोत कविता हो । यस कवितामा नेपालको यथार्थ अवस्थालाई उजागर गर्दै नेपालीहरूले आफ्नो श्रम र सिप स्वदेशमै लगाउनुपर्छ भन्ने सन्देश दिइएको छ । नेपाललाई बचाउन र समृद्ध बनाउन आफ्नो श्रम र सिप स्वदेशमै खर्च गर्नुपर्छ भन्ने मूल मान्यता यस कविताले बोकेको छ ।

प्रत्येक व्यक्तिसँग कुनै न कुनै प्रकारको क्षमता र सिप हुन्छ । कोहीसँग प्रखर बुद्धि हुन्छ भने कोहीसँग शारीरिक तागत हुन्छ । यी सबै क्षमताको सही उपयोग स्वदेशमै गर्न सकियो भने देशको उन्नति सम्भव छ । नेपालका पहाडी क्षेत्रमा धेरै जमिन बाँझै रहेका छन् । ती जमिनको उपयोग गरी हावापानी सुहाउँदो खेती गर्न सके नेपाल कृषिमा आत्मनिर्भर बन्न सक्छ । पहाडको प्राकृतिक सौन्दर्यलाई पर्यटनसँग जोड्न सके प्रशस्त पर्यटक भित्र्याउन सकिन्छ । तराईका फाँटहरूमा सिँचाइको व्यवस्था मिलाएर वर्षभरि खेती गर्न सके अन्नको भण्डार नै खडा गर्न सकिन्छ । यी सबै कार्यका लागि हाम्रो श्रम र सिपको आवश्यकता पर्छ ।

कविताले आलस्य, निद्रा र हीनताको भाव त्यागेर एकजुट भई अघि बढ्नुपर्ने कुरामा जोड दिएको छ । हामीले आफूसँग भएको सिपलाई आफूअनुकूल क्षेत्रमा लगानी गर्न सक्छौं । पढेलेखेका व्यक्तिले नीति निर्माण र योजना तर्जुमामा योगदान दिन सक्छन् भने शारीरिक रूपमा सबल व्यक्तिले ती योजनालाई मूर्त रूप दिन सक्छन् । कृषि, पर्यटन, उद्योग, शिक्षा, स्वास्थ्य जस्ता हरेक क्षेत्रमा हाम्रो श्रम र सिपको उपयोग गर्न सकिन्छ ।

समग्रमा, यस कविताले नेपालीहरूलाई स्वदेशमै श्रम र सिप लगाउन अभिप्रेरित गरेको छ । विदेशको मोह त्यागेर आफ्नै मातृभूमिको उत्थानमा लाग्नु नै सच्चा देशभक्ति हो भन्ने सन्देश कविताले दिएको छ । हामी सबैले आआफ्नो क्षमता अनुसार देश निर्माणमा योगदान गर्न सके मात्र नेपाल समृद्ध बन्न सक्छ ।

११. कविताका सुरुका चार पङ्क्तिबाट कुनै दुई ओटा बोध प्रश्न निर्माण गरी तिनको उत्तर लेख्नुहोस् ।

(क)नेपालीहरूको गौरव कसरी बाँच्ने छ ?
उत्तर: नेपाल बाँचे नेपालीहरूको गौरव बाँच्ने छ ।
(ख)हाम्रो श्रम र सिप किन स्वदेशमै लगाउनुपर्छ ?
उत्तर: हाम्रो श्रम र सिप देश बलियो बनाउन स्वदेशमै लगाउनुपर्छ ।

१२. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

(क) प्रश्नहरू

(अ)बिमा भनेको के हो ?
उत्तर: अनिश्चित जोखिम हस्तान्तरण गरी क्षतिपूर्ति गर्ने माध्यम नै बिमा हो ।
(आ)बिमालाई एक प्रकारको सम्झौता मानिनुको कारण लेख्नुहोस् ।
उत्तर: बिमकलाई आकस्मिक सङ्कट आइपरेमा एक निश्चित रकम क्षतिपूर्ति दिने भनी बिमकले सम्झौता गर्ने भएकाले बिमालाई एक प्रकारको सम्झौता मानिएको हो ।
(इ)सामाजिक बिमाअन्तर्गत के के पर्छन् ?
उत्तर: सामाजिक बिमाअन्तर्गत वृद्धावस्था, आश्रित तथा अशक्तता बिमा, स्वास्थ्य बिमा, बेरोजगारी बिमा, कामदार वा मुआब्जा बिमा, अनिवार्य अस्थायी अशक्तता बिमा आदि पर्छन् ।
(ई)बिमाबाट के के फाइदा हुन्छ ?
उत्तर: बिमाले हानि वा नोक्सानिको क्षतिपूर्ति, कम चिन्ता र त्रास, लगानीयोग्य कोषको स्रोत, क्षति नियन्त्रण तथा रोकथाम, साखको वृद्धि आदिमा फाइदा पुर्याउँछ ।

(ख) भाषिक संरचना र वर्णविन्यास पहिचान गर्नुहोस् :

(अ)अनुच्छेदबाट एक एक ओटा उद्देश्य र विधेय विस्तारक वाक्य पहिचान गर्नुहोस् ।
उद्देश्य विस्तार: अन्य सरकारी बिमाअन्तर्गत उपदान समाप्ति बिमा, सङ्घीय बाढी पहिरो बिमा, सङ्घीय बाली बिमालगायतका थुप्रै कार्यक्रम पर्छन् ।
विधेय विस्तार: बिमालाई जोखिम हस्तान्तरण गर्ने उपायका रूपमा लिइन्छ ।
(आ)अनुच्छेदबाट एउटा जटिल वाक्य पहिचान गरी त्यसलाई सरल वाक्यमा परिवर्तन गर्नुहोस् ।
जटिल वाक्य: बिमा व्यवसायले जीवनमा आइपर्ने खतरा वा विपत्ति रोक्न सक्दैन तर यस्ता विपत्तिबाट हुने आर्थिक क्षतिबाट एक हदसम्म राहत दिन्छ ।
सरल वाक्य: बिमा व्यवसायले जीवनमा आइपर्ने खतरा रोक्न सक्दैन । बिमाले विपत्ति रोक्न सक्दैन । बिमाले विपत्तिबाट हुने आर्थिक क्षतिबाट एक हदसम्म राहत दिन्छ ।
(इ)अनुच्छेदबाट 'श', 'ष' र 'स' प्रयोग भएका एक एक ओटा शब्द टिपोट गरी तिनको अर्थ लेख्नुहोस् ।
उत्तर: अशक्त : कमजोर, कोष : ढुकुटी, सम्पत्ति : धन

सुनाइ र बोलाइ

१. सुनाइ पाठ ८ सुन्नुहोस् र दिइएका प्रश्नको उत्तर भन्नुहोस् :

(क)सजीव तत्त्व भन्नाले के बुझिन्छ ?
उत्तर: सजीव तत्त्व भन्नाले सूक्ष्म जीवाणुदेखि ठुला ठुला जनावरका साथै बोटविरुवा जस्ता पृथ्वीका सम्पूर्ण प्राणी तथा वनस्पतिलाई बुझिन्छ ।
(ख)पृथ्वीको वातावरणलाई कति किसिममा विभाजन गरिएको छ ?
उत्तर: पृथ्वीको वातावरणलाई जल, स्थल र वायु गरी प्रमुख तीन किसिमले विभाजन गरिएको छ ।
(ग)महासागरको पानी नुनिलो हुनाको कारण के हो ?
उत्तर: महासागरको पानी नुनिलो हुनाको कारण लवण तत्त्व बढी हुनु हो ।
(घ)वायु पारिस्थितिक प्रणालीको सिर्जना कसरी हुन्छ ?
उत्तर: वायु वातावरणमा चराचुरुङ्गी तथा कीटपतङ्गको वातावरण पर्छ र यिनै वातावरणमा वायु पारिस्थितिक प्रणालीको पनि सिर्जना हुन्छ ।

२. पारिस्थितिक प्रणालीको सन्तुलनका लागि के के कुरामा ध्यान पुर्याउनुपर्छ, सुनाइ पाठ ८ का आधारमा भन्नुहोस् ।

सजीव र उसको वरपरको वातावरण वा निर्जीव तत्त्वबिच हुने अदृश्य वा अप्रत्यक्ष किसिमको घनिष्ट अन्तरसम्बन्धलाई पारिस्थितिक प्रणाली भनिन्छ । जलीय पारिस्थितिक प्रणाली, वायु पारिस्थितिक प्रणाली र स्थलीय पारिस्थितिक प्रणाली गरी पारिस्थितिक प्रणाली तीन किसिमका छन् । पारिस्थितिक प्रणाली सन्तुलनका लागि हामीले जल, वायु तथा स्थल तीनै क्षेत्रको स्वच्छतामा ख्याल गर्नु पर्दछ । स्वच्छ वातावरण भयो भने पारिस्थितिक प्रणाली सन्तुलित हुन्छ ।

Post a Comment